ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल :: 4.1 राप्ति अञ्चल (Rapti Zone) :: 4.1.4 प्युठान जिल्ला (Pyuthan District) :: पर्यटकीय गन्तव्य बन्दै “कुपिण्डे ताल”

पर्यटकीय गन्तव्य बन्दै “कुपिण्डे ताल”

kupinde Taal सल्यान, पुस ८:- जाडो महिना भएर नै होला घर बाहिरको समय चिसो छ । मौसम सफा । उत्तरतिर मोती झै हाँसिरहेका हिमश्रृङ्ला । वरिपरी अग्ला–अग्ला पहाड, हरियाली जङ्गल र बीचमा नीलो आकाश झै दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याऊने दृश्य भएको तलाऊ कुपिण्डे ताल । यो दह, आज भोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । यस जिल्लाका मात्र नभई राप्ति र भेरी अञ्चलका विभिन्न जिल्लाका स्थानबाट कुपिण्डे दह हेर्न आउने सङ्ख्या बढेको छ । स्थानीय पोखरसिंह कँवरले विगत तीन वर्षयता कुपिण्डेमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताए । “डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिम श्रृङ्खलाको दृश्यावलोकनको मज्जा बेग्लै छ” उनले भने । सदरमुकाम खलङ्गाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ । सदरमुकामबाट नजिकै भएकाले विभिन्न सरकारी, गैह्रसरकारी संस्था र विद्यालयका विद्यार्थीका लागि पर्यटकीय आर्कषणको केन्द्र बनेको छ कुपिण्डे दह । ‘जव प्लेसमेन्ट कलेज’का प्रवन्धक ठाकुर पाण्डेले कुपिण्डे राष्ट्रिय महत्व बोकेको पर्यटकीयस्थल भएको बताए । कुपिण्डेवाट चाखुरे, सिस्ने लगायतका हिम श्रृङ्खला हेर्न सकिन्छ । कुपिण्डेदह संरक्षण समितिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । डुङ्गा चालक सूर्य बुढाथोकी आजभोलि डुङ्गा शयर गर्ने पर्यटक राप्ति अञ्चल मात्र होइन भेरीका बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट पनि आउने गरेका बताए । “आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ” उनले भने । कुपिण्डे दहको आधुनिक प्रविधिबाट नाप त लिइएको छैन, तैपनि स्थानीय प्रविधिबाट नाप लिँदा साढे २५ मिटर गहिरो, करिव दुई किलोेमिटर लामो र एक किलोमटिर चौडाइ क्षेत्रमा फैलिइएको संरक्षण समितिका अध्यक्ष झरेन्द्र कुँवरले जानकारी दिए । बहुआयामिक कुविण्डे दहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सके त्यहाँको जीवनस्तर, आर्थिकस्थिति परिवर्तनको सम्भावना छ । वि.सं २०६४ देखि दहमा डुङ्गा सञ्चालन भएपछि धार्मिक अन्धविश्वासका कारण स्थानीय केही बुढापाका पहिले डुङ्गा चढ्न मान्दैनथे । अहिले त्यो भ्रमबाट मुक्त भएको डुङ्गा चालक मानबहादुर क्षेत्रीले बताए । “आजभोलि डुङ्गा चढ्ने बुढापाकाको सङ्ख्या बढेको छ” उनले भने । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । हरियाली वन जङ्गल छ । जङ्गलमा घोरल, रतुवा, कालीज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको अध्यक्ष कुँवरले बताए । पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे दहको विकास गर्न पर्यटन बोर्डलाई अनुरोध गरेको स्थानीय चेतलाल पोखरेलले बताए । दुई वर्षयता कुपिण्डेमा बनभोज र डुङ्गामा रमाउन आउने क्रम बढेकाले पनि आवश्यक पूर्वाधारको विकास लागि कार्यक्रम माग गरेको उनको भनाइ छ । दहको मध्यभागबाट उत्तरतिरका हिमश्रृङ्खला देख्न सकिन्छ । अहिले दिनमा आठ घण्टा दुबै डुङ्गा चल्छन्। डुङ्गामा पूरै फन्को लगाउन दुई घण्टाको समय लाग्छ। एक फन्को लगाउँदा १५ रुपैयाँ भाडा लाग्छ । वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दीरमा पूजाआजा गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पूजारी लालबहादुर कुँवरको भनाइ छ । “यो वर्ष मात्रै पाँचहजार भन्दा धेरै मन्दिरमा पूजा र दर्शन गर्न आए” उनले भने । जि.वि.स.ले जिल्लाका पर्यटकीय स्थलको विकास लागि कार्यक्रम अगाडि बढाएको छ । कुपिण्डे दहमा पछिल्लो समय वर्खा याममा बाढीका कारण दह पुरिने सम्भावना बढेकोले तटबन्ध, जनचेतनामूलक कार्यक्रमलगायतका काम थालेको जिविसका सूचना अधिकृत पूर्ण वलीको भनाइ छ । रमेशकुमार वली, सेटोपाटी

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*