ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: श्री पाथिभरा देवी मन्दिर, (बशन्तपुर) तेह्रथुम l

श्री पाथिभरा देवी मन्दिर, (बशन्तपुर) तेह्रथुम l

तिर्थ स्थलः श्री पाथिभरा देवी मन्दिर
कोशी अञ्चल तेह्रथुम जिल्ला बशन्तपुर गा.वि.स. वडा नं. १, तिनजुरे अबस्थित पुरानो ईतिहासमा आधारित अर्थात अघिको समय देखि घना जंगलको माझमा रहेको “टार” वरिपरी कागको बासस्थान भएको हुनाले “कवाईटार” ले प्रख्यात ठाउँमा सु–सज्जित रहेकी ताप्लेजुङ्ग जिल्लाको प्रसिद्ध भुमीमा बासगरी बसेकी सात्क्षातकार देवी श्री पाथिभरा माताको शाखा श्री पाथिभरा देवी मन्दिरको उत्पतिको ईतिहाँस संकलन गर्दा तेह्रथुम जिल्ला जलजले गा.वि.स. वडा नं. २ निवासी श्री नर बा. बस्नेतको नाति बुबा जित बा. तथा माता भिममाया बस्नेतको कान्छो छोराको जन्मभई उक्त बालकले तिन दिनसम्म आमाको दुध सेवन नगरेको र त्यस समयमा उहि माता पाथिभरा देवीको  आराधना गरी यो बालक आफै हिड्न सक्ने भएपछि देवीको दर्शन गराईदिन ल्याईदिने भनि ताप्लेजुङ्गमा अबस्थित पाथिभरा देवीको भाकल गरिदिए पछि उक्त बालकले आमाको दुध सेवन गर्न थाल्यो । समय बित्दै जाँदा गरिएको भाकलपट्टी ध्यान पुगेन । करिब ५/६ बर्षको बालकको उमेर हुँदा पुनः बालकलाई बिभिन्न रोगले सतायो र धामी, झाँक्री लगाइयो । झाक्रीको कथन/बाणी अनुसार तिमीहरुले यो बालकका लागि सानो छँदा देवीको भाकल गरीदिएको रहेछ । त्यो भाकल तुरुन्त बुझाएमा यी रोगबाट छुट्कारा हुने बताएछन् । यस्ता झाँक्रीका भनाईलाई आत्मसाथ गर्दै परिवारका केहि सदस्य र आफन्त सल्लाह गरी भाकल बुझाउँन भनी एउटा कालो बोका लिएर ति सदस्यहरु माता श्री पाथिभराको धाम ताप्लेजुङ्ग तर्फ प्रस्थान गरे । तिन दिनको कष्टकर यात्रा पश्चात पबित्र धाममा पुगी देवीलाई अर्पण गरेको कालो बोका र पूजाको सबै सामान जुटाई पूजा बिधि-अनुसार शुरुगरी उक्तबोका काट्ने क्रममा अरुका बोका सबैको एकै पटकमा छिन्यो तर बालकका लागि गरिएको भाकल बुझाउँने उक्तबोको छिनेन अर्थात देवीले भाकल बुझाएको स्वीकार गरिनन् । त्यसै बखतमा पूजागर्न गएका परिवारका सदस्य मध्ये बालकका बुबालाई अचानक शरिर भारी भई कम्प आउँन खोजेजस्तो भएको र तुरुन्तै मन्दिरमा प्रवेश गरी देवीको सामुपरी देवीसँग बिभिन्न प्रकारले क्षमा माग्दै यसको बद्लामा म घरगई नजिकैको पबित्र ठाँउबाट यस धामलाई सामुपर्ने गरी यसको बदला वहीबाट सेवा दिनेछु/बुझाउँनेछु भनी त्यहाँबाट भाकलको संकल्प गरी भेटी स्वरुप सानो पैसा र फुलपाती लिएर घर फर्कनु भएछ । घरमा आई पुनः बलीको लागि कालो बोका लिएर तिनजुरेको कवाईटारमा गई मानाभरा र पाथिभरा माताको मुलमन्दिरलाई सामु पारी पुजाबिधि अनुसार देवीलाई त्यहीबाट सेवा दिईयो । ततः पश्चात सात्क्षातकार माताको दर्शन गर्न धेरै कष्टकर यात्रा भोगेको अनुभवलाई गुन्दै यसै ठाउँमा पवित्र स्थल मानी सर्व–साधारणका लागि देवीको दर्शन तथा पुजा पाठ् गर्नलाई उही पाथिभरा देवीको शाखा ल्याई मन्दिर स्थापना गर्ने ईच्छा वहाँ बालकका बाबुमा प्रकट भएछ । त्यसै सालको दिपावलीमा छिमेकी तथा साथिभाईहरुसँग मिली रमाईलो गर्न भनी तिहारको महान चाडमा देउसी खेल्न सुरु गर्नुभएछ । त्यो समयमा देउसीबाट संकलित रकम रु १२,४६४। रुपैँयालाई देवीको मन्दिर बनाउने प्रस्ताव पनि वहाँबाटै निकालिएको र सर्ब–सम्मत उक्त महान कार्यको प्रस्ताव सबैबाट पास भयो र श्री पाथिभरा देवीको मन्दिर निर्माण गर्ने प्रस्ताव सहित कोष खडा गरी अन्य दाताहरुको सहयोगमा मन्दिर निर्माण गरिएको थियो । मन्दिर निर्माण पछि धामी पुजारीको साथमा मन्दिरको लागि पुजा सामान दियो, कलश, त्रिशुल, घण्टी आदी पुरा सेट मिलाई ४ जना ब्यक्तीहरु ताप्लेजुङ्गको माताको मुल मन्दिरमा पुगी पुजा बिधी अनुसार मातालाई बक्साएर शाखा लगी सोही ठाउँबाट भगवती देवीको पुजा पाठ गर्छौं भनी लगिएको पुजाको सामानलाई सट्टागरी शाखाको लागि पुरा सामाग्रीः– शिला, पथ्थर, दियो, कलश, घण्टी, त्रिशुल, निशान ईत्यादी पुजाका सम्पूर्ण सामान लिएर यो ठाउँमा आई नव निर्मित श्री पाथिभरा देवीको मन्दिरमा पुजाआजा गरी सात्क्षातकार देवीलाई मिति २०५३ साल बैशाख १५ गते शनिबारका दिनको शुभ साईत पारी प्रमूख ब्यक्ती तत्कालिन जिल्ला प्रमूख श्री नारायण गोपाल जवेगु (सि.डि.ओ.), सामाजिक अगुवाईहरु श्री द्रोणचन्द्र गौतम, श्री जित बा.बस्नेत र श्री बिष्णु प्र.प्रसाई गरी चारजनाका हातबाट देवीलाई भित्र्याई धुमधामका साथ पुजागर्न शुरु गरिएको थियो ।

यातायातः
तेह्रथुम जिल्ला म्याङलुङ्ग नगरपालिका अन्तर्गत म्याङलुङ्ग–बशन्तपुरको पक्की सडकभरी प्रशस्त सवारी साधन पाईने र सोही बशन्तपुरबाट पक्की सडक हुँदै उत्तर संखुवासभाको खाँदबारी जाने पक्की सडक अन्तर्गत पर्ने देउरालीबाट उकालो कच्ची सडकको यात्रामा निजी सवारी साधन प्रयोग गरी अत्ति नै रमणिय ठाउँको दृष्यालोकन गर्दै यो धाम आउन सकिन्छ । उत्तर तिरबाटको पैदलमार्ग ताप्लेजुङ्गको चाँगे हुँदै संखुवासभाको सिमानामा पर्ने गुफा पोखरी र लाम पोखरी, चौकी हुँदै तिनजुरे डाँडा नजिकैको यो धाम आउँन सकिन्छ । पाँचथर फिदिमबाट आठराईको चुहानडाँडा, सग्रान्ती हुँदै औंसी बजार म्याङलुङ्ग अनि जिरिखिम्ती हुँदै बशन्तपुर भएर यो मन्दिरमा आईपुगिन्छ । तराई तिरको यात्रामा ईटहरी, धरान, धनकुट्टा हुँदै बशन्तपुर आई यो धाममा दर्शन गर्न आईपुगिन्छ ।

यात्रा समयः
धरान-धनकुट्टा-तेह्रथुमको बशन्तपुरसम्मको पक्की सडक अनी तेह्रथुमको जिरिखिम्ती बजारबाट बसन्तपुरसम्म र उत्तरी खादबारीको सडकबाट देउरालीसम्म सवारी साधन प्रशस्त पाईनेछ । देउराली आई त्यहाँबाट अर्थात देउरालीबाट उकालो कच्ची सडक निजी तथा भाडाका सवारी साधनबाट यात्रा गरी २० मिनेट पैदल उकालो रमणिय सिडी चड्नु पर्नेछ । तर देउरालीबाट पैदल यात्रा करिब डेड घण्टाको यात्रा हुनेछ । यो मन्दिर बशन्तपुरबाट करिब ७ कि.मि.को दुरीमा रहेको छ । हरेक दिन जसो यहाँ पुजाआजा गर्नेको भिड असाध्यै हुने गर्दछ । आफ्नो अनुकुलता मिलाई माताको दर्शन गर्न यात्रा गर्नुपर्ने छ ।

ध्यान दिनु पर्ने कुराः
यस धाममा पूजापाठ तथा दर्शन गर्न आउँदा जुत्ता–चप्पल, छालाजन्य बस्तुहरुलाई मन्दिरको मुख्य गेट बाहिर राखि मन्दिर प्रबेश गर्नु पर्नेहुन्छ । श्री पाथिभरा दवीको धाम मन्दिर परिषर भित्र धुम्रपान, मद्यपान पुरै मनाही छ ।

खान र बस्ने व्यवस्थाः
हालको परिपेक्षमा मूख्य शहर जिरिखिम्तीमा अबस्थित सुबिधा सहितको, आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउस  (जो चाही यसै पेजको मूख्य भागको दाँया साईडमा रहेको लोगोमा क्लीक गरी सम्पूर्ण जानकारी लिन सकिन्छ) सधै यो गेष्ट हाउस आगन्तुक पाहुनालाई सेवामा समर्पित रहेको छ ।

यस धाममा यात्राको व्यवस्थाः
तेह्रथुम जिल्लाभरीका लगायत श्री पाथिभरा देवीको धाम मन्दिरमा दर्शन गर्न जानका लागि आगन्तुक तथा पर्यटकहरुलाई खान र बस्नको लागि सेवा दिनसक्ने एकमात्र होटल श्री हिमगंगा गेष्ट हाउसले यात्राको सुरक्षित व्यवस्थाको प्रबन्ध मिलाउने गरेको छ । जिल्लाभरीका धार्मिक तथा रमणिय पर्यटकीय क्षेत्रहरुको प्रत्यक्ष अवलोकनका लागि यहाँबाट आरामदायी यातायातका सवारी साधनबाट गन्तव्यसम्म पुर्याई माताको दर्शन गराई ल्याउने काम यो गेष्ट हाउसबाट गरिन्छ ।

पहिरनः
यो तिनजुरे डाँडामा अबस्थित माता पाथिभरा देवीको धाममा दर्शन गर्न आउँदा यहाँको मौशम तथा तापक्रम धेरै कम रहेको महशुस गरिन्छ । आफ्नो न्यानोका लागि यो मन्दिर आईपुग्न लाग्दा न्यानो पहिरन लगाई मन्दिर दर्शनमा आएमा थप यस रमणिय डाँडामा रमाउँन र त्यस दिनको समयको मज्जा छुट्टै बटुलिने छ । सभ्य र सु–संस्कृत सहितको पहिरन लगाई धाम दर्शन गरे आप्mनो मनोकान्क्षा पुरा हुने बिश्वास रहेको छ ।

यस क्षेत्रको महत्वः
यस श्री पाथिभरा देवीको मन्दिरमा शाखा ल्याउने क्रममा ताप्लेजुङ्गमा अबस्थित ठूलो पाथिभरा धाममा पुजापाठ गरी देवीसँग शाखा लिन बलमाग्दा अचानक आकाशमा मेघगर्जी आँधी तुफानको आवाज गरी आकाशमा बिभिन्न शक्ती प्रकट भएको र त्यसै बखत यता नवनिर्मित मन्दिरमा कलश यात्रा, नौमती बाजाका साथ झ्याली झ्याम्टा सहित गरिएको यात्रामा मन्दिर पुग्न लाग्दा अचानक १ जोडी बिशाल कालो पंछी बाँझले चारै तिर फन्को मार्दै ठुँगुला झै गरी मानिससँग झगडा गरेको जस्तो गर्दै नव–निर्मित मन्दिर पुगेपछि माथिबाटै ३ फन्का मार्दै/घुम्दै त्यस ठाउँलाई परिक्रमा गरी त्यहाँबाट अन्तर्ध्यान भएको थियो । माताको मन्दिरमा पुजाआजा शुरु भए पश्चात एकजना बटौरे यस्तै बाटो हिड्ने क्रममा देवीको दर्शन गर्न आई उहिल्यै मैले सपनामा यही ठाउँमा मन्दिर भएको देखेको थिँए साच्ची नै यहाँ त सात्क्षात देवीको बासस्थान पो रहेछ भनी भगवतिको दर्शन गरी आफ्नो बाटो लागेका थिए । माता भगवतिको सामुपरे जो चिताएको पूर्ण हुने जन-बिश्वास रहिआएको छ । यस प्रसिद्ध श्री पाथिभरा देवीको धाममा बिशेष गरी बैशाख महिनामा सामुहिक पुजा गरिदै आएको छ । जेठ, आषाड र भाद्र महिना भरी देवीको पुजा गर्न तथा दर्शन गर्न भिडभाड रहने गर्दछ । आश्विन र कार्तिक महिना भरी बिशेष गरी नवदुर्गा माताको पुजा गर्नुको साथै रमणिय दृष्यावलोकनले दर्शनार्थीहरुको मन लोभ्याई दिनेछ । यस पबित्र धाममा टाडाबाट दर्शनार्थीहरु आई भगवान प्रतिको आश्था र विश्वासमा लिनभई भगवानको आराधना गरी भक्त भएमा आफ्नो मनकामना पूर्ण हुने जन-बिश्वास रहिआएको छ । यस धाममा आई बिभिन्न ठाउँको दोष निवाकरणको लागि वा बिभिन्न ठाउँको गरिएको भाकललाई यसै पबित्र ठाउँबाट बुझाउँने चलन रहि-आएको छ । यस मन्दिर स्थापना पश्चात लगातार यस धाममा पञ्चवली (पाँच प्रकारका जिव जनावर)को बली ३ बर्षसम्म श्री जित बा. बस्नेतले चढाउँनु भएको थियो भने अहिले आएर दिनमा हजारौ बोका कुखुरा आदीको बली चढाईन्छ ।

अन्य आकर्षणः
यस धामको चारैतिर हरियाली वातावरणले भरीपूर्ण रहेको, तिनजुरे मिल्के जलजलेको गुराँसले दिएको मनमोहक सुन्दरता, ३६ प्रजातिले फुल्ने गुराँसको फुलले थप यहाँको शोभा बढाएको छ । साथमा यसै जिल्लामा रहेकी पबित्र आस्थाकी देवी सिमिनाक्षी भगवती धाम, श्री पतालेश्वर महादेव धाम, यसै जिल्लाको सदरमुकाम म्याङलुङ्गमा रहेको अर्को प्रशिद्ध श्री सिंहबाहिनी भगवती अनि यस धाममा आई अरु थपः यात्रा अवलोकनका लागि पूर्व दिशामा छुट्टै आफ्नो बेजोड ईतिहाँस बोकेको श्री मझौ कमला देबी गुफा मन्दिर, श्री गाई खुरी धाम तथा आकर्षण भकारी र बिश्व कै लामो तथा अग्लो ह्यात्रुङ झरना लगायतले पनि र यस क्षेत्रको यात्रा गन्तब्यलाई निकै प्रख्यात अनि प्रसिद्ध हुँदै आएको छ । यी धार्मिक तथा पर्यटकीय क्षेत्रहरुले गर्दा थप यहाँको आकर्षण बढाई पर्यटन विकासमा टेवा पुगेको छ । यो तिनजुरे मिल्के जलजले डाडामा अबस्थित श्री पाथिभरा मन्दिरबाट चारै दिशामा अबस्थित क्रमशः दृष्यावलोकन गर्दा ताप्लेजुङ्गमा अबस्थित मानाभरा, श्री पाथिभरा देवीको बासस्थान तथा मुल मन्दिर र छेउछाउको रमणिय भु–भाग, सुकेटारको बिमानस्थल, यसै गरी पाँचथरका अधिकांश रमणिय भु–भागहरु, ईलामका बिभिन्न ठाउँहरु, झापा, मोरङ्ग जिल्लाको दक्षिणी भु–भाग, सुनसरी तथा सप्तरीका अधिकांश भु–भाग, कोशी ब्यारेज, धनकुटाको रमणिय भु–भाग, भोजपुर लगायत संखुवासभासम्मको रमणिय भु–भागहरुको एकै ठाउँबाट सफा मौसम भएको बेला अर्थात बिशेष गरी कार्तीक र मंसिर महिनामा यी क्षेत्रहरुको दृष्यालोकन गर्न सकिन्छ ।

प्रस्तोताः
पूर्वाञ्चल पर्यटन विकास संस्था
+९७७-९८०६०२९०९४
दमक–झापा

यस श्री पाथिभरा देवी मन्दिरका अन्य आकर्षण तथा रमणिय तस्बिरहरुः

pathivara  (1)

श्री पाथिभरा देवी मन्दिर पुग्नु अगाडि पूजा गरिने ठाउँ माथिल्लो फेदी ।

pathivara  (3)

श्री पाथिभरा देवी मन्दिर धाम 

pathivara  (4)

श्री पाथिभरा देवी मन्दिर धाम 

pathivara  (5)

श्री पाथिभरा देवी मन्दिर धाम जादाको उकालो रमणिय सिडी

pathivara  (6)

श्री पाथिभरा देवी मन्दिर धाम नजिकै रहेको टावर  र धाम नजिकै रहेको रमणिय भु-भाग ।

pathivara  (7)

श्री पाथिभरा देवी मन्दिर धाम नजिकै रहेको रमणिय भु-भाग ।

pathivara  (8)

श्री पाथिभरा देवी मन्दिर धाम नजिकै रहेको टावर ।

pathivara  (9)

श्री पाथिभरा देवी मन्दिर धाम नजिकै रहेको २८ प्रजातीका गुरास फुल्ने घना-जङल ।

 

pathivara  (10)

श्री पाथिभरा देवी मन्दिर धाम पुग्नु अगाडि माथिल्लो फेदी ।

pathivara  (12)

श्री पाथिभरा देवी मन्दिर धाम नजिकै जङलमा फुल्ने २८ प्रजातीका गुरास मध्येको एक प्रजाती गुरास ।

pathivara  (13)

धाम नजिकै जङलमा फुल्ने  गुरासको  फुल ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*