ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.2 महाकाली अञ्चल (Mahakali Zone) :: 5.2.2 वैतडी जिल्ला (Baitadi District) :: बैतडीको पताल भुवनेश्वर नेपालकै गहिरो गुफा

बैतडीको पताल भुवनेश्वर नेपालकै गहिरो गुफा

pataal vumeswar gufa  बैतडी जिल्लास्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी रहेको छ । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो ।  आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको पत्रकार सम्मेलनमा बताइयो ।  यस अघि तनहुँको बन्दिपुर स्थित  ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको  थियो ।  दुसेनको अध्ययन टोलीले पाताल भुवनेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताइएको छ । संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पाताल भुवनेश्वरको अध्ययन सुरु गर्नुभएको हो । पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा यही चैत २९ गते गुफाको प्रचार/प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पताल भुवनेश्वर गुफा महोत्सव २०७० को समेत आयोजना गरिएको थियो ।  महोत्सवमा गुफा अवलोकनको व्यवस्थाका साथै स्थानीय खानाका स्टल र स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको जनाइएको छ । सो महोत्सव गर्नुअघि विशेषज्ञको टोलीले गुफाको थप अध्ययन गरेको हो ।  पाताल भुवनेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास रहेको छ । महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ । त्यस क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । बैतडीको बासुलिङ्ग र भुवनेश्वर गाविसको बीचमा रहेको सामुदायिक वन क्षेत्रमा रहेको यो गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ  ।  गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । धनगढी–डडेलधुरा राजमार्ग हुँदै बैतडीको सिउडेसम्म पुग्न झन्डै २०० किलोमिटरको दूरी पार गर्नुपर्छ भने सिउडेबाट ३० मिनेटको उकालो चढेपछि यो गुफामा पुग्न सकिन्छ । पत्रकार सम्मेलनमा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रकाश भट्ट, पत्रकार दीर्घराज उपाध्याय, मायाप्रकाश भट्ट, दिनेशराज भण्डारीलगायतले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि पताल भुवनेश्वर गुफा कोसेढुङ्गा सावित हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो । साभार: मुलधार समाचार

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*