ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: 1.1.3 ईलाम जिल्ला(Ilam District) :: पर्यटकीय गन्तव्यको लागि> “माईपोखरी धाम”, ईलाम

पर्यटकीय गन्तव्यको लागि> “माईपोखरी धाम”, ईलाम

maipokhari 1इलाम जिल्ला पर्यटकीय गन्तव्यको लागि एकदमै अगाडि रहेको सर्वाबिधितै छ । त्यस्तै हामीहरु तपाइँ सामु ईलामको गहनाको रुपमा रहेको माईपोखरी बारेमा पस्किन खोजिरहेका छौ । इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेको माईपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्व बोकेको “नौ कुने पोखरी” को रुपमा माईपोखरीको महत्व अगाडि बढेको छ । यो तारा आकृतिको छ । १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ । मेची राजमार्गको विव्ल्याँटे भन्ने बजारबाट करिव १२.५ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले पनि उत्तिकै महत्व रहको छ । माइपोखरी गा.वि.स.६ मा अवस्थित माइपोखरी इलाम बजारबाट १५ कि.मी. उत्तर २१३० मी.को उचाईमा रहेको छ । यहाँसम्म जानको लागि हिउँदमा यातायातको सुविधा छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ । सामान्य चिया नास्ता होटलको व्यवस्था भएको यस ठाउँको भ्रमण गर्न असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाखलाई उपयुक्त मानिन्छ । करिब १८८ हेक्टरमा फैलिएको र नौवटा कुनाहरू भएको प्राकृतिक एव धार्मिक सुन्दरताले भरिपुर्ण यो पोखरीको एक कुनाबाट अर्को कुना देख्न गाह्रो पर्दछ । आजसम्म पनि यहाँ एउटा अखण्ड धुनी बलिरहेको छ ।maipokhari 3

हाल यहाँसम्म कच्चि बाटो बनिसकेकाले सवारी साधनका साथ पुग्न सकिन्छ । यो पनि अर्को धार्मिक स्थलका रूपमा परिचित स्थल हो । नेपाली परम्परा अनुसार बिभिन्न किसिमका बिपत्ति पर्दा देवी-देवताको स्मरण गरी उनीहरूलाई खुशी पार्न केही दान गर्ने, तिर्थाटन गर्ने, मनमनै कसम खाने चलन पाइन्छ । यसलाई भाकल गर्ने भन्ने चलन छ । यसरी भाकल गरी सकेपछि उपयुक्त समयमा भाकल पुरा गर्ने, तिर्थाटन गर्नु पर्ने हुन्छ । यही क्रममा स्थानीय तिर्थालुहरू यहाँ आउने गर्दछन् । यो पोखरी समुन्द्री सतह देखि ७२०० फिटको उचाईमा रहेको छ । अत्यन्तै मनमोहक जंगलले घेरिएको यो स्थानमा बिसं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । हरीशयनी एकादशी र हरीबोधिनी एकादशीका दिन यहाँ धार्मिक मेला लाग्ने गर्दछ । माईपोखरीमा कहिले कहिले आउने छाललाई स्थानीय बासीहरू maipokhari 5अनिष्टको संकेतको रूपमा लिन्छन् र सम्भाबित अनिष्टबाट देशलाई, जनतालाई बचाउन मन्दिरमा पूजा आजा गर्ने, पोखरीमा दुध चढाउने गरिन्छ । शिव-पार्वती बन बिहार र जलक्रिडा गर्ने गरेको भनी स्कन्ध पुराणमा बर्णित थलो यहीं हो भन्ने भनाई पनि रहेको छ । यसको नवरात्रसँग नजीकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जस अन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदा देखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ ।

यो पोखरीका नौ कुनाछन् जसमा नवदुर्गाको बास रहेको विश्वास गरिन्छ । खासगरी ठूलो एकादशीमा यहाँ भक्तजनको घुइँचो लाग्छ । त्यसबाहेक दर्शनार्थी दिनहुँ पनि आइरहन्छन् । ९ कुने पोखरीका हरेक कुनामा माईभगवतीको पूजा हुन्छ । पूर्वको प्रसिद्ध यो सिमसार क्षेत्र २०६५ कात्तिक १२ मा सिमसार क्षेत्रमा सूचीकृत भयो ।maipokhari 6

माइपोखरी सिमसार जैविक विविधतामा धनी छ । समुद्री सतहबाट करिब २१ सय मिटर उचाइको यहाँ स्वच्छ र चिसो हावापानी पाइन्छ । बढीमा १८ डिग्री र कम्तीमा २ डिग्री सेल्सियस तापक्रम पुग्छ । जंगल क्षेत्रसहित यो क्षेत्र ९० हेक्टरमा फैलेको छ । त्यसमध्ये २ हेक्टर सिमसार क्षेत्र छ । बाँकी ठाउँमा घना-जंगल छ । लौठ सल्ला, सुनाखरी, गलैंचे झ्याउ जस्ता अन्तर्राष्ट्रिय महत्त्वका वनस्पति यहाँ पाइन्छन् । सुलुत्त बढेका रूख कलमी गरेर मिलाएका जस्ता देखिन्छन् । ती रूख हेर्दा मनमोहक देखिन्छन् । वनस्पति, चराचुरुंगीको चिरीबिरी सुन्दै जंगल सफारी गर्दा बेग्लै आनन्द हुन्छ । वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस क्षेत्रमा २ सय प्रजातिका फूल फुल्ने बिरुवा छन् । ३ प्रजातिका चाँप, ४ थरी गुराँस र ६२ थरीका जडीबुटी पत्ता लागेका छन् । रूखका हाँगामाथि फस्टाउने विभिन्न थरीका सुनाखरीले धार्मिक वनलाई आकर्षक बनाएका छन् ।

maipokhari 4यो क्षेत्र जलचर, नभचर र स्थलचरको बासस्थान हो । धार्मिक वन समूहको तथ्यांक अनुसार यस क्षेत्रमा ३ प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप र १४ प्रजातिका स्तनधारी पाइन्छन् । ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यागट्याग पाहा, रूख भ्यागुतो जस्ता उभयचर प्रसस्तै पाइन्छन् । हरियो छेपारो, चंखे सर्प र विश्वमै लोपोन्मुख ओत जस्ता सरिसृपको बासस्थान पनि हो यो क्षेत्र । माइ उपत्यका धेरै चराचुरुंगीको बासस्थान भएको क्षेत्रका रूपमा चिनिन्छ । उपत्यकामा ३ सय प्रजातिका पक्षीको अभिलेख गरिएको छ । त्यसमध्ये २ सय प्रजातिकाले यही क्षेत्रमा प्रजनन् गर्छन् । बाँकीचाहिँ बाहिरबाट बेलाबेलामा आउने गर्छन् । पीतमुहार चिचिल्कोटे र सानो सिविया चरा यो सिमसार क्षेत्रमा मात्र अभिलेख गरिएको छ । काकाकुल, कालोभुँडीफोर, भुँडीफोर, हिमाली गिद्धलगायतका चरा गर्मी याममा यहाँ आउने गर्छन् । साइबेरिया देखि श्रीलंकासम्म बसाइ सर्ने चराहरू समेत यही क्षेत्र हुँदै आउजाउ गर्ने गरेको पाइएको छ ।

परापूर्वकाल देखि धार्मिकस्थलको रूपमा परिचित यो क्षेत्रको संस्थागत विकासको प्रयास २०५० सालबाट भएको हो । त्यही वर्ष माइपोखरी संरक्षण समिति गठन भयो भने २०५६ सालदेखि वनस्पति उद्यान बनाउन सुरू भयो ।
sandakpur(1)२०५९ मा उत्तरी क्षेत्रको विकास र पर्यटन विकासको योजना बनाइएको थियो । यहाँ रक गार्डेन, चिमाल प्रजनन् अनुसन्धान, जडीबुटी प्रदर्शनी प्लट, लौठसल्ला प्लट, अर्किड उद्यान, जडीबुटीका बिरुवा उत्पादन, डोमेस्टिकेसन तथा जर्मप्लाजम, शोभनीय बगैंचा जस्ता संरचना बनेका छन् । स्थानीयवासीका अनुसार मूलको र वर्षादको पानी मुख्य स्रोत भएको छ । एक पटक मात्र नभई यहाँ आउने दर्शनार्थी पुन: फर्केर आउनु पर्ने मनमोहक यो ऐतिहासिक एवम् रमणीय पोखरीले बनाउने गर्दछ ।

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*