ताजा जानकारी
Home :: मध्यमाञ्चल :: 2.1 जनकपुर अञ्चल (Janakpur Zone) :: 2.1.1 दोलखा जिल्ला (Dolakha District) :: दोलालघाटलाई सुविधा सम्पन्न पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने.

दोलालघाटलाई सुविधा सम्पन्न पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने.

काभ्रे, ६ वैशाख, काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सीमानामा अवस्थित दोलालघाटलाई सुविधा सम्पन्न आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरिने भएको छ । दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रको हालै बसेको बैठकले सो निर्णय गरेको हो । सुनकोशी र इन्द्रावती नदीको संगम स्थलको रुपमा रहेको दोलालघाट पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल समेत हो । त्यतिमात्र नभएर चीनसँग व्यापारिक कारोवार गर्ने तातोपानी नाका तर्फ लाग्ने प्रमुख गन्तब्यको रुपमा पनि दोलालघाट परिचित छ । त्यस्तै राजधानीको कोलाहलबाट केही समयको लागि भए पनि मुक्त हुन र सुनकोशी तथा इन्द्रावती नदीमा तैरने माछाको स्वाद लिन पनि दोलालघाटले धेरैलाई लोभ्याएको छ । यीनै विशेषताहरु र अनुपम प्राकृतिक सुन्दरताले सजिएको दोलालघाटको आकर्षणलाई व्यवसायिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न दोलालघाटका उत्साही व्यक्तित्वहरु दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रमा संगठित हुँदै अगाडि बढेका हुन् ।

प्राप्त जानकारी अनुसार दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रले दोलालघाटको पर्यटन प्रवद्र्धनका लागि विभिन्न भावी योजना तथा कार्यक्रमहरु समेत गर्ने भएको छ । ती योजना तथा कार्यक्रमहरुमा दोलालघाटस्थित महादेवको मन्दिर एउटै संरचनामा पुनः निर्माण गरिने, दोलालघाटस्थित बेलडाँडामा सुविधा सम्पन्न थ्रिस्टार होटलको निर्माणका लागि सेभेन स्टार ग्रुपसँग सहकार्य गरिने, दोलालघाटस्थित वनदेउ डाँडामा बुद्धको मूर्ति सहितको पार्क निर्माण, सुनकोशी र इन्द्रावती नदीमा अस्थाई बाँध निर्माण, दोलालघाटदेखि पलाञ्चोक भगवतीसम्म केवलकारको सञ्चालन, स्थानीय जनतालाई सुविधा सहितको चाईनिज, स्पेनिस र अंग्रेजी भाषा कक्षा सञ्चालन गर्ने छन् ।

यसैगरी संस्थाको आफ्नै सामुदायिक हस्टिल र एम्बुलेन्स सेवा, लोकल कुखुरा पालन, माछापालन, खसी पालन, बङ्गुर पालन लगायत रहेका छन् । त्यस्तै अन्य योजना तथा कार्यक्रमहरुमा होमस्टेको व्यवस्था, चाईनिज पर्यटकलाई ट्रान्जिट प्वाईन्ट बनाउन पहल, जनचेतनामूलक सरसफाई अभियान, मोटर बोटको सञ्चालन, काठमाडौंदेखि दोलालघाटसम्म टूर प्याकेजको व्यवस्था, प्लास्टिक तथा शिशाको बोतलमाथि प्रतिबन्ध, वृक्षारोपण, अत्याधुनिक कम्प्युटर तथा ईन्टरनेट सेवा सञ्चालन, स्थानीय मौलिक भाखा र संस्कृतिको संरक्षण लगायत रहेका छन् ।

दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्रले ल्याएको यो अत्यन्त महत्वकांक्षी योजना पूरा गर्न अरबौ रुपैयाँ लाग्ने निश्चित छ ।  समाजले लक्ष्यलाई व्यहारमा उतारी दोलालघाटलाई काभ्रे र सिन्धुपाल्चोक जिल्लाको मात्र नभएर नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तब्यको विकसित गर्न आवश्यक सहयोगको लागि अरनिको यातायात सेवा समिति, ट्रक कन्टेनर संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ, वागमती टिपर संघ, रोलवालिङ यातायात सेवा समिति, बाह्रविसे यातायात सेवा समिति, दोलालघाट, भुल्लुटार, ज्याम्दी, सपिङ, फलाँटे गाविस, जिविस काभ्रे, धुलिखेल तथा पाँचखाल नगरपालिका, नेपाल पर्यटन वोर्ड, धुलिखेल तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, पर्यटन मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, तातोपानी भन्सार कार्यालय, स्थानीय संघसंस्थाहरु, समाजसेवी, व्यापारी, उद्योगी, शिक्षक, विद्यार्थी, समाजसेवी लगायत सबैमा सक्दो सहयोग तथा समर्थनको लागि अनुरोध गरिने समेत जनाएको छ ।

Copied : रमेश हतुवाली

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*