ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.1 मेचि अञ्चल (Mechi Zone) :: दर्शन मात्र होइन, तिम्बुङपोखरीको पानी नै औषधि ।

दर्शन मात्र होइन, तिम्बुङपोखरीको पानी नै औषधि ।

timbung-pokhari_2

१५ भदौ । तिम्बुङपोखरी असोजदेखि वैशाखसम्म हिउँले छोपिन्छ । बाँकी समयमा आन्तरिक तथा बाह्य पर्यटक आक्कलझुक्कल यहाँ आउने गर्छन् । कुहिरोले छिनमै छोप्ने र छिनमै उघ्रने यो पोखरी ताप्लेजुङको कालीखोला र पाँचथरको फलैंचा गाउ“ विकास समिति र भारतको सिक्किमको सिमानामा रहेको छ । ४,४८१ मिटर उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १४५ मिटर पूर्व–पश्चिम चौडाइमा फैलिएको छ । पोखरीमा बन्दुक पड्केजस्तो आवाज सुनिने भएकाले यसको नाम तिम्बुङपोखरी रहेको बताइन्छ । शेर्पा भाषामा तिम्बुङ भनेको बन्दुक पड्कँदा निस्केको आवाजलाई जनाउँछ ।

तिम्बुङपोखरी आसपासमा मठमन्दिर छैनन् । यो धार्मिक स्थल पनि होइन । र पनि, ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, झापा, दार्जिलिङ, सिक्किमबाट पोखरी हेर्नै भनेर यहाँ आउने गर्छन् । उनीहरूले पोखरीमा फूलपाती, अछेता, धूप, अबिर र त्रिशूल चढाउने गर्छन् । यसका अलावा सुन र चाँदी पनि चढाउने गरिएको छ । एकपटक तिम्बुङपोखरी पुगे घरपरिवार र बस्तुभाउको रक्षा हुने विश्वास गरिन्छ । यहाँको पानी बिरामीलाई खुवाए निको हुने जनविश्वास रहेको छ । पोखरीको पानी सधैं सफा देखिन्छ । पोखरी टलक्क टल्केको हुन्छ । पोखरीमा चढाइएको पैसाले पोखरी टल्कँदा आँखा झिमिक्क नगरी हेरिरहुँ झैं लाग्छ । स्थानीयका अनुसार, पोखरी गहिरो छ । पोखरीको पानी रिम्बुखोला हुँदै बग्ने गर्छ ।

timbung-pokhari-oripari-dekhieaka-PADAMCHAL-430x336

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट कस्सेर हिँड्दा तीन दिनमा तिम्बुङपोखरी पुग्न सकिन्छ । बाटैभरि फुलेका चाँप, गुराँस, सुनाखरी र बुकीफूलको सुगन्धले बाटो काटेको थाहै हुँदैन । बाटैभरि ठुल्ठूला नागी र धूपीसल्लाको घना जंगल छ । त्यही घना जंगलबीचमा तिम्बुङपोखरी रहेको छ । बाटैभरि घा“सेमैदान, नागी, विभिन्न प्रजातिका रंगीचंगी फूल लोभलाग्दो गरी फुलेका हुन्छन् । चाँप, गुराँस, सुनाखरी, बुकी, धूपीसल्ला र विभिन्न प्रजातिका रंगीचंगी फुलेका फूलको ‘मार्केटिङ’ गरी त्यहाँबाट आर्जित आम्दानीले पोखरी संरक्षण, सम्बद्र्धन गर्दै यसलाई उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिन्छ । तर, यसतर्फ कसैको ध्यान पुगेको छैन ।

त्यतिमात्र होइन, पोखरी आसपासमा रहेको जंगलमा पदमचाल, सुनापाती, भैरुङपाती, सिक्पा, कस्तूरी र रेडपान्डा पाइन्छन् । यसैगरी, डाँफे, काँडेभ्याकुर, झारल, घोरल, हिउँचितुवा, मृग, भालु, मुनाल चरिरहेको देख्दा यहाँ आइपुगेका जोकोही मख्ख पर्छन् । अनि आँखैअगाडि कुम्भकर्ण र कन्चनजंघा मुसुक्क हाँसेको देख्दा प्रकृतिप्रेमीको मन कति रमाउँदो हो । यहाँबाट भारतको दार्जिलिङ र सिक्किमसमेत प्रस्ट देखिन्छ ।

यहाँ बहुमूल्य जडीबुटी पाँचऔंले, जटामसी, यार्सागुम्बा, कुट्की र बिखमासमेत पाइन्छन् । जुन जडीबुटी व्यर्थैमा खेर गइरहेका छन् । यसको ‘मार्केटिङ’ गर्न सके बर्सेनि करोडौं रुपैयाँ आर्जन गर्न सकिन्छ । जुन रुपैयाँ तिम्बुङपोखरीको पर्यटकीय पूर्वाधार निर्माणार्थ खर्च गर्न सकिन्छ । केही समयअघि त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र विभागीयप्रमुख डा. सुरेश घिमिरे र गोरखा क्याम्पस प्राध्यापक बालक देवकोटाले तिम्बुङपोखरी आसपासमा बिखमा, कुट्की र जटामसीलगायत जडीबुटीको विकास र दिगो संकलनबारे अनुसन्धान गरेका थिए ।

पर्यटकीय पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आगमन वृद्धि हुनेछ । यहाँ आइपुगेका पर्यटक पोखरी आसपासमा रहेका चौंरी गोठमा बास बस्न बाध्य छन् भने खानका लागि तयारी खाना बोक्नुपर्ने हुन्छ । आप्mनै बन्दोबस्तीमा आउनुपर्ने भएकाले आन्तरिक तथा बाह्य आक्कलझुक्कलमात्रै यहा“ देखिन्छन् । पछिल्लो समय दीपज्योति युवा क्लब र दी माउन्टेन इन्स्टिच्युट यहा“को विकास निर्माणमा अग्रसर देखिएका छन् । टीएमआई र दीपज्योतिले तिम्बुङपोखरीसम्म पुग्ने घोरेटो बाटो बनाएका छन् ।

एकताका अंग्रेजहरू समेत तिम्बुङपोखरी आएका थिए । अंग्रेजले भारतमा शासन गर्दाताका उनीहरू यहाँ आएको बताइन्छ । पोखरीको विशेषताबारे थुपै्र जानकारी पाएका उनीहरू सिक्किम हुँदै तिम्बुङपोखरी आएका थिए । उनीहरूले पोखरीको बीचैमा रहेको सुनको बडेमानको गोरु देखे । पोखरीको पानी बाहिर फालेर उनीहरू सुनको गोरु हत्याउन लोभिए । उनीहरूले तुरुन्तै पोखरीको एकछेउमा खन्न थाले । खन्न थाल्नेबित्तिकै १२ जना अंग्रेजको ठाउँका ठाउँ ज्यान गयो । त्यसपछि बचेका अंग्रेजको सातोपुत्लो उड्यो । उनीहरू लगत्तै त्यहाँबाट भागेको ‘ताप्लेजुङका प्रमुख पर्यटकीय स्थलहरू’ पुस्तिकामा ‘ताप्लेजुङका पवित्र तीर्थस्थलहरू’ नामक किताबमा राजेश्वर थापाले उल्लेख गरेका छन् ।

पोखरीआसपासमा विभिन्न स–साना पोखरी छन् । तिम्बुङपोखरी अलावा कान्छीपोखरी, खोपीपोखरी, दूधपोखरी, छारेपोखरी, ममुरपोखरी, नीरपोखरी, हाँसपोखरी, लक्ष्मीपोखरी, हाँडीपोखरी, तावापोखरीलगायत १८ पोखरी रहेका छन् । ती पोखरी देखाएर पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावना उत्तिकै छ । तिम्बुङपोखरी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकका लागि खान र बस्ने व्यवस्था मिलाउन सके यो ठाउँ पनि पर्यटकका लागि नमुना गन्तव्य बन्नेमा दुईमत छैन । खान र बस्ने व्यवस्था नहुँदा जोकोही यहाँसम्म आउन हरेस खान्छन् ।

कन्चनजंघा ल्यान्डस्केप कन्सर्न ग्रुपले ०६४ मा तिम्बुङपोखरी महोत्सव गरेको थियो । तिम्बुङपोखरीको पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव सकिएपछि यसतर्फ सरकार, पर्यटन व्यवसायी र पर्यटन प्रवद्र्धकको ध्यान नपुग्दा तिम्बुङपोखरी जस्ता नेपालका थुप्रै पर्यटकीय स्थल ओझेलमा छन् । साभार श्राेतः पुर्बेली समाचार

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*