ताजा जानकारी
Home :: मध्य–पश्चिमाञ्चल :: 4.3 कणाली अञ्चल (Karnali Zone) :: 4.3.5 डोल्पा जिल्ला (Dolpa District) :: चार पाथी धान कुट्दा आठ पाथी चामल भएपछि बनेको मन्दिर

चार पाथी धान कुट्दा आठ पाथी चामल भएपछि बनेको मन्दिर

डोल्पा– त्रिपुराकोट,डोल्पा– त्रिपुराकोट, कोटगढीमा बाईसे–चौबिसे राज्यअन्तर्गत राजा विक्रम शाहीको दरबार थियो । शाहीले डोल्पाका नौ राज्य गर्थे । उनले कोटगढीका १४ घर विष्टलाई आफ्ना काजी नियुक्त गरेका थिए ।
गढीमा राजाको दरबार थियो । दरबारनजिकै एउटा धान कुट्ने ओखल थियो । कजिनीहरू धान कुट्न त्यहाँ जान्थे । एक समय, ओखलमा धान कुट्दा अचम्म हुन थाल्यो । कहिले चार पाथी धान कुट्दा आठ पाथी चामल हुन्थ्यो । कहिले दुई पाथी धान कुट्दा दुई मानामात्रै चामल हुन्थ्यो । यो कुरा काजीमार्फत राजालाई सुनाइयो ।
उनले ओखल उखेल्ने निर्णय गरेर गाउँलेलाई काम लगाए । दिनभरमा ओखल केही माथिमात्र निकालियो । भोलिपल्ट हेर्दा ओखल पुरानै अवस्थामा थियो । त्यो देखेर सबै चकित परे । त्यसपछि राजाले हजारौँ मान्छे बोलाएर रातदिन काम गराएर ओखल निकालीछाडे । ओखलको फेदमा तामाको ओदान, ओेदानमाथि कराई, कराईमाथि तामाको थाली, थालीमाथि षट्कोणयन्त्र, त्यसमाथि कँुडेस र त्यसभित्र नव दुर्गा भगवतीका नौ बहिनी पुतलीहरू भेटिए । ती पुलतीमध्ये बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाङ, बैतडीको त्रिपुरेश्वरी र बाजुराको मालिका पुगे । बाँकी चार पुतली बाला, त्रिपुरा, सुन्दरी र चाहिँ त्यहीँ बसे । त्यहाँ मन्दिर स्थापना गरियो । अहिले ती देवी महाकाली, महालक्ष्मी र महासरस्वतीको नामले प्रसिद्ध छन् । बाला त्रिपुरा सुन्दरी देवी मन्दिरबारे बुढापाकाले सुनाउने किम्बदन्ती हो यो ।
१११४ सालमा स्थापना भएको मानिने यस मन्दिर सुन्दर स्थानमा छ । पूर्वतिर सुन्दरी गंगा, पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल र दक्षिणमा भैरवी गंगाको बीचमा रहेको यो मन्दिरको पर्यटकीय महत्व पनि उत्तिकै छ । यसैको नजिकै भैरवेश्वर महादेवको मन्दिर पनि छ ।
सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर भ्रमण गर्ने क्रममा यसै मन्दिरमा ढाड पतन भएको कथा धार्मिक ग्रन्ध स्वस्थानीमा उल्लेख छ । अन्य हिन्दु धर्मग्रन्थमा पनि यस मन्दिरबारे उल्लेख गरिएको छ । मन्दिरको दर्शन गर्दा भक्ति र मुक्ति प्राप्त हुने पुजारी देविकृष्ण उपाध्याय बताउँछन् । यहाँ पूजा गर्दा खँडेरी परेको बेला पानी पर्ने र पानी धेर परेको बेला रोकिने विश्वास रहेको स्थानिय परमानन्द देवकोटाले बताए ।
मन्दिरका पहिलो पुजारी सुकदेव न्यौपाने हुन् । त्यसपछि उनकै सन्तानले पूजा सम्हाल्दै आएका छन् । जुल्लाका सुकदेव न्यौपाने मुक्तिनाथ भ्रमण जाँदा मन्दिरमा पनि पुगेका थिए । त्यहाँबाट फर्कँदा सपनामा पूजा चलाउनू भन्ने आदेश आएपछि त्यहीँ बसेको किम्बदन्ती प्रचलित छ । ७० बर्षीय न्यौपाने सपनालाई वेवास्ता गरेर हिँड्न खोजेपछि आँखा नखुलेको र पुजारी हुने वाचा गरेपछिमात्रै आँखा खुलेको कथा बुढापाका सुनाउँछन् । मन्दिरमा बिहान र साँझ पूजा हुन्छ । मन्दिर व्यवस्थापन गर्न पुजारी, निशानी, छडीदार, फुलारा, दमाई, कुलाला र सार्कीबीच जिम्मेवारी बाँडफाँड गरिएको छ ।
मन्दिरमा राम नवमी र दसैंको घटस्थापनादेखि दशमीसम्म विशेष पूजाआजा हुन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस मन्दिरको प्रचार–प्रसार र संरक्षणमा राज्यको ध्यान जानु आवश्यक छ । साभार> रामचन्द्र न्यौपाने रातोपाटी

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*