ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.2 कोशी अञ्चल (Koshi Zone) :: 1.2.2 तेह्रथुम जिल्ला :: गुराँस फूलको प्राकृतिक सौन्दर्य संगै पर्यटकको ओइरो …

गुराँस फूलको प्राकृतिक सौन्दर्य संगै पर्यटकको ओइरो …

“बास बस्दै वसन्तपुरमा हिउँ खेल्न आउँकी

घाम झुल्किएको हेर्न मेन्छ्यायेम डाँडा जाउँकी

दर्शन गर्नु चैत्य गुम्बा सिद्धकाली पाथीभरा

भारी बिसाई थकाई मार्नु हेर्दै चौकी हराभरा

शान्त स्वच्छ निर्मल गुफा पोखरीको पानी

धर्तीमा एउटा यही हो गुराँसको राजधानी…”

तेह्रथुम, वैशाख २४ :- पर्यटकीय स्थल चौकी, गुफापोखरी अनि वसन्तपुरका नाममा धेरै लोकभाका, कविता अनि गजल बनिसकेका छन् । यिनै स्थानलाई आधार बनाएर धेरै लेखकले आफ्नो कलम चलाएर पर्यटकीय क्षेत्रको वर्णन गर्दै आएका छन् । लेखक अनि सर्जकले यिनै सेरोफेरोमा रहेर यस ठाउँको घरीघरी तारिफ गरिरहन भुल्दैनन् । तर पछिल्लो समय यी ठाउँको चिनारी अर्को पनि थपिएको छ ।

यस क्षेत्रमा फुल्ने गुराँस फूलको प्राकृतिक सौन्दर्यबाट प्रभावित भएर सर्जकले विभिन्न भाका सिर्जना गरिरहेका भए पनि यस क्षेत्रको चिनारी नै दिने गरी कोदोबाट बनाएको तोङबा र राँगाको सुकुटी यस क्षेत्रसम्म घुम्न आउनेको मौलिक खान्की बन्दै गएको छ । यस क्षेत्रको भ्रमणमा आउनेले एकै पटक दुईवटा फाइदा लिन्छन् । एउटै उचाइमा रहेका रमणीय पहाडको पदयात्राका क्रममा देखिने प्राकृतिक सौन्दर्य र रसिलो तोङबाको साथमा स्वादिलो सुकुटी ।

तराईमा गर्मी बढेका बेला शरीर चिस्याउन धेरै प्रकृतिप्रेमी वसन्तपुर पुग्छन् । यहाँबाट सुरु भएको उनीहरूको यात्रा थप दुई दिन अगाडि संखुवासभाको गुफा बजारसम्म पुगेर रोकिन्छ । बाह्रै महिना चिसोले कठ्याङ्िग्रने यी स्थानसम्म आएकाको पहिलो नास्ता यहाँको मौलिक खान्की तोङबा र सुकुटी हुने गर्छ ।

अधिकांश समय बादलले ढाक्ने यी ठाउँमा आएका यस क्षेत्रको प्राकृतिक सौन्दर्यता देखेर भुतुक्कै हुन्छन् । झन् यतिबेला लेकाली वनपाखामा गुराँस फुलेर रातै भएका छन् । लेकाली फाँट, घाँसे मैदान र हरिया नागीहरूको वर्णन गरेर साध्यै छैन ।

यहाँसम्म आएका लेकाली चिसो भगाउन मौलिक पेय खान्की तोङबाको साथ लिन्छन् । स्थानीयहरू तोङबालाई जाडो भगाउने ‘भित्रीकोट’ भनेर ठट्टा गर्छन् । पदयात्राका क्रममा घरीघरी भुइँकुहिरो खुल्दा पारिपट्टि देखिने कुम्भकर्ण, मकालु, कञ्चनजंघा र ठूलो क्षेत्रफलमा फैलिएको गुराँस वनको दृश्यको अवलोकन गर्ने अवसर यहाँ आएकालाई जुर्ने गर्छ ।

वसन्तपुरदेखि गुफा बजारसम्मको पदयात्रामा निस्किएकाले साना-ठूला होटलमा काठका भाँडा, पित्तल र तामाले मोरेर बनाइएका कलात्मक भाँडा देख्न सक्छन् । यी भाँडा तोङबाकै लागि कुँदेर बनाइएको हो ।

पहिले सवारी नचल्दा यस भेगका बासिन्दाले धरानदेखि नुनलगायत खाद्यान्न बोकेर ल्याउँदा बास बस्नका लागि वसन्तपुर, चौकी र गुफामा बनाइएका गोठ अहिले हजारौं पर्यटक तान्ने गन्तव्य बनेका छन् ।

प्रकाशित मिति: २०७२ वैशाख २४ (Copiet By:-ekantipur)

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*