ताजा जानकारी
Home :: सुदुर–पश्चिमाञ्चल :: 5.1 सेती अञ्चल (Seti Zone) :: 5.1.5 कैलाली जिल्ला (Kailali District) :: कैलालीमा धार्मिक पर्यटन गन्तव्य बनाउन “कुम्भमेला”

कैलालीमा धार्मिक पर्यटन गन्तव्य बनाउन “कुम्भमेला”

kailaliसुदूरपश्चिमको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरीलाई धार्मिक पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘सहश्र कुम्भ दर्शन मेला’को तयारी गरिएको छ । आगामी माघ १ गतेदेखि फागुन १ गतेसम्म हुने सहश्र कुम्भ दर्शन मेलाको व्यवस्थापन गर्न साहित्यकार पदमराज जोशीको संयोजकत्वमा मूल समिति र त्यस अन्तर्गत विभिन्न उपसमिति गठन गरिएका छन् । मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार जोशीले मेला भर्न आउने सन्त महन्तको बसोवासका लागि कटेजहरुको निर्माण, मेलास्थलमा खानेपानी, बाटोघाटो, विद्युतीकरण जस्ता पूर्वाधारहरु जुटाउने काम भइरहेको बताए । मेलास्थलमा पूर्वाधार जुटाउने काममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सहयोग गरिरहेका छन् । कुम्भ मेला आयोजना गर्नका लागि नेपाल सरकारले ४५ लाख रुपैयाँ, जिल्ला विकास समितिबाट  १० लाख रुपैयाँ नगद तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट १० लाख रुपैयाँ बराबरको पूर्वाधार निर्माणको काम भइरहेको संयोजक जोशीले जानकारी दिए । यसबाहेक कैलालीस्थित नेपाल खानेपानी संस्थान र नेपाल विद्युत् प्राधिकरणबाट पनि आवश्यक सहयोग भइरहेको छ। कुम्भमेला आयोजना गर्न मेचीदेखि महाकालीसम्मका श्रद्धालु समेटिने गरी १० हजार सदस्यीय मूल आयोजक समिति र त्यस अन्तर्गत १ सय १ वटा विभिन्न उपसमिति गठन गरिएको छ । गोदावरीमा हुने कुम्भ मेलामा पाँचवटा महास्नान गरिने धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्तिका दिन प्रथम महास्नान, माघ १० गते स्वस्थानी पूर्णिमाका दिन दोस्रो महास्नान, माघ २१ गते एकादशीका दिन तेस्रो महास्नान, माघ २५ गते औँसीका दिन चौथो महास्नान र फागुन १ गते श्रीपञ्चमीका दिन पाँचौ महास्नान गरिने जनाइएको छ । मेलामा देवी देवतालाई देउरा स्नान, यज्ञ यज्ञादी, लक्ष्य होम, एक कोटी (एक करोड) द्वीप प्रज्वलन, भागवत पुराण वाचन, भजन किर्तन, सामूहिकरुपमा ब्रतवन्ध र विवाहजस्ता धार्मिक संस्कार हुनलागेका छन्। यसका साथै कृषि, शिक्षा, स्थानीय लोक संस्कृतिसम्बन्धी प्रदर्शनी झाँकीसमेत गर्ने तयारी गरिएको छ । कुम्भ मेलामा भारतको प्रयाग पीठ र उत्तराखण्ड पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्यलगायत नेपाल र भारतका सन्त महन्तहरुको सहभागिता हुने जनाइएको छ । धनगढीदेखि करिव २२ किलोमिटर उत्तर चुरेपहाडको फेदमा रहेको गोदावरी क्षेत्र धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने देखिएको छ। गोदावरी नदी छेउमा मठ मन्दिर, धर्मशाला, बौद्ध गुम्वाहरु रहेका छन्। यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गरेको छ । धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचिन गोदावरीका रुपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान श्रीकृष्णले स्नान गरेको भन्ने स्कन्दपुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ। यसका साथै गोदावरीमा भगवान राम, भिष्मपितामह र पाण्डवहरुले पनि स्नान गरेको किंवदन्ती छ । “सेतोपाटी”

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*