ताजा जानकारी
Home :: पुर्वाञ्चल :: 1.3 सगरमाथा अञ्चल (Sagarmatha Zone) :: 1.3.4 उदयपुर जिल्ला (Udayapur District) :: एउटै डाँडामा बहुजातीय संस्कृतिको यस्तो अभ्यास: उदयपुर

एउटै डाँडामा बहुजातीय संस्कृतिको यस्तो अभ्यास: उदयपुर

सद्भाव डाँडा

राधाकृष्ण मन्दिर अगाडि, किराँतेश्वर मन्दिर पछाडि, उक्त मन्दिरहरुको उत्तरमा नजिकै सेमिच्योङ् भवन पनि छ।

गुम्बामा बौद्ध प्रवचन चलिरहँदा नजिकैको राधाकृष्ण मन्दिरमा भक्तजनहरू भजनमा व्यस्त हुन्छन् भने गुम्बा र मन्दिरको त्यही परिसरमा किराँतीहरू साकेला नाचिरहेका देखिन्छन्। एउटै डाँडामा बहुजातीय संस्कृतिको यस्तो अभ्यास उदयपुरको कटारी–२ राजावासमा भइरहेको छ।

कटारी गाविसका पूर्व अध्यक्ष रामकुमार राई भन्छन्, “पहिलेको चिहानडाँडालाई धार्मिक–सांस्कृतिक सङ्गमस्थल बनायौं।”

यो डाँडामा किराँतेश्वर मन्दिर, साङ्गेछोयलिङ गुम्बा, राधाकृष्ण मन्दिर, भूमे स्थानका साथै किराँत राई र मुस्लिम समुदायहरूको समाधिस्थल छ। यसको पूर्वपट्टि नजिकै रक्तकाली मन्दिर छ, जहाँ वालाचतुर्दशी, एकादशी जस्ता अवसरमा भव्य मेला लाग्छ। यसरी पर्यटनस्थल बनेको यो क्षेत्रमा टाढाटाढाबाट मानिसहरू आउन थालेका छन्।

“विभिन्न धर्मावलम्बीहरूको यस्तो सांस्कृतिक समायोजनले सामुदायिक सद्भाव बढाएको छ”, गाविसका पूर्व अध्यक्ष राई भन्छन्, “सिद्धिचरण राजमार्गले छोएको र सशस्त्र प्रहरीको बेसक्याम्प पनि रहेकाले आउजाउको सुविस्तासँगै सुरक्षा पनि छ।”

ऋषि राई, कटारी, उदयपुर

प्रतिक्रिया छाड्नुहोस्

तपाईँको ईमेल प्रकाशन हुने छैन । आवश्यक फायलहरु छानिए *

*